FAQs Complain Problems

शिक्षित वेटी वालिग पोतह ,स्वच्छ आ समुन्त गाउँपालिका अभियान सुभारम्भ समाराेह

गाउँपालिका अध्यक्ष महेन्द्र महतो र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै
शिक्षित वेटी वालिग पोतह ,स्वच्छ आ समुन्त गाउँपालिका अभियान सुभारम्भ समाराेह उदघाटन  गर्दै
मन्तव्य वयत्त गर्दै प्रमुख प्रशासकिय अधिकृत

 सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरी जन्मिए बैंकमा २७ रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ। ‘शिक्षित बेटी (छोरी), वालिग पुतोह (बुहारी), स्वच्छ र समुन्नत गाउँपालिका’ भन्ने नाराका साथ गाउँपालिकाले यो योजना अघि सारेको हो।

गत साउनयता जन्मिएका बालिकाका नाममा गाउँपालिकाले २० हजार, अभिभावकले ५ र नेपाल बंगलादेश बैंकले २ हजार राखेर खाता खोल्ने सम्झौता भएको छ। बबरगन्जमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र महतो र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार बालिकाले २० वर्ष उमेर पुगेपछि पैसा निकाल्न पाउँछन्। यसका लागि अभिभावकले निजी वा गाउँपालिकाले तोकेको सार्वजनिक जग्गामा ३५ दिनभित्र पाँचवटा बिरुवा रोप्नुपर्नेछ। विद्यालय शिक्षा पूरा नगरी २० वर्षभन्दा कम उमेरमा बिहे गरे खातामा जम्मा भएको रकम नपाउने सर्त पनि राखिएको छ।

छोरीलाई शिक्षित, उमेर पुगेपछि मात्र विवाह र गाउँपालिकालाई हराभरा बनाउन यस्तो अभियान ल्याइएको गाउँपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराईले बताए। ‘अभियानले छोरीलाई शिक्षित बनाउने र कम उमेरमा विवाह हुने प्रवृत्ति रोक्नेछ’, उनले भने, ‘यसका साथै २० वर्षपछि पैसा निकाल्दा बिहेवारी र पढाइलेखाइमा पनि सहयोग पुग्नेछ।’

बैंकले ८ प्रतिशत ब्याजसमेत दिने सम्झौतापत्रमा उल्लेख छ। समयावधि पुगेपछि एकमुष्ठ रकम बैंकले ब्याजसहित अभिभावकलाई दिनेछ। खातावाल बालिकाको मृत्यु भए गाउँपालिकाको निर्णय र सिफारिसअनुसार अभिभावकलाई हस्तान्तरण गरिने उनले सुनाए।

छोरी नपढाउने र कम उमेरमा बिहे गर्ने परम्परा तोड्न यस्तो नीति लागू गरिएको अध्यक्ष महेन्द्र महतोले बताए। ‘कम उमेरमा बिहे हुने परम्पराले हाम्रो समाज पछि परेको छ’, उनले भने, ‘छोरालाई राम्रो विद्यालय र छोरीलाई घरमा काम लगाउने चलन मधेसको ग्रामीण क्षेत्रमा छ।’

यो अभियानले छोरीहरूलाई फाइदा पुग्ने बबरगन्जकी लिलियादेवी सिंहले बताइन्। शिक्षा अभावमा छोरीले दुःख पाउने र कम उमेरमा विवाह गर्दा शारीरिक जोखिममा पर्ने अवस्था निरुत्साहित हुने उनको भनाइ छ। ‘गाउँपालिकाको निर्णय स्वागतयोग्य छ’, उनले भनिन्, ‘दहेज प्रथा हट्यो भने छोरीमाथि हुने हिंसा अझै कम हुनेछ।’

कार्यक्रममा राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, प्रदेश मन्त्री जितेन्द्र सोनरसहित रामनरेश राय, नवलकिशोर साह, अभिराम झालगायतको उपस्थिति थियो।

आर्थिक वर्ष:

जन प्रतिनिधि